गिल र सिराजको टेष्टमा डेब्यू

गिल र सिराजको टेष्टमा डेब्यू

admin

खेलकुद

एजेन्सी – भारतविरुद्ध दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै छ । मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलिया कप्तान टिम पेइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

चार खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । भारतले पहिलो खेलबाट टोलीमा ४ परिवर्तन गरेको छ । युवा ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् ।

गिललाई भारतले ओपनर पृथ्वी शा को स्थानमा मौका दिएको हो । शाले लगातार खराब प्रर्दशन गरेपछि गिलले टेष्टमा डेब्यू पाएका हुन् । तीव्र गतिका बलर मोहम्मद शामी घाइते हुँदा सिराजले उनको स्थान लिएका हुन् ।

विकेटकिपर ऋद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । विराट कोहलीको स्थानमा भारतले अलराउन्डर रविन्द्र जडेजालाई खेलाएको छ । कोहली भारत फर्किएका छन् । शाहले पहिलो खेलमा खराब प्रर्दशन गर्दा भारतले पन्तलाई मौका दिएको हो ।

भारत पहिलो खेलमा दोस्रो इनिङमा अष्ट्रेलियासँग एडिलेडमा ३६ रनमा अल आउट हुँदै आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतले चेतेश्वर पुजारालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।